काठमाडौं, चैत ३ । काठमाण्डौ किकर्स प्रा.लि.ले फुटबल क्लिनिक संचालनमा ल्याउने भएको छ । आज दरबारमार्गस्थित रोयल सिंघी होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाका अध्यक्ष नविन पाण्डेले उक्त जानकारी गराएका हुन् ।
नेपालमा फुटबलको भविष्य र सम्भावना प्रचुर मात्रामा रहेको र उक्त कार्यको मार्केटिङ्ग मात्र नभएको भन्दै पाण्डेले उक्त सम्भावनालाई निजी क्षेत्रबाट उजागर गर्दै अन्तर्राष्ट्रियस्तरमा पुर्याउने संस्थाको उद्धेश्य रहेको बताए । राज्यको साधन र श्रोतमा मात्र निर्भर रहेमा बालबालिकामा रहेको क्षमतालाई उजागर गर्न असम्भव रहेको भन्दै अब निजी क्षेत्रले उक्त असम्भव अवस्थालाई सम्भवमा उतार्ने कार्य उक्त संस्थाले गर्ने उनले बताए ।
प्रशिक्षकको रुपमा स्कटल्याण्डका लि.मेनसनलाई अनुबन्ध गरिएको जनाइएको छ । प्रशिक्षक मेनसन १९९४ देखि स्कटल्याण्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओसमा काम गरिसकेका तथा एएफसी च्याम्पियनसिप लिग र एएफसी कपमा टिम सम्हालिसकेका प्रशिक्षक हुन् ।
त्यस्तै, ग्रासरुट लेभलदेखि व्यावसायिक खेलाडीलाई समेत प्रशिक्षण दिने गरी काठमाण्डौ किकर्स फुटबल क्लिनिक आगामी शुक्रबारदेखि सुरु गर्न लागिएको जनाइएको छ। सुरुवातका क्रममा आगामी शुक्रबार, शनिबार र आइतबार दैनिक २ घण्टा फुटबल क्लिनिकको आयोजना गरिने छ । जसमा ६ देखि ९, १० देखि १३ र १४ देखि १६ बर्षका गरी तीन समूहका बालबालिका तथा फुटबल खेलाडीलाई प्रशिक्षण प्रदान गरिने जनाइएको छ ।
त्यसका लागि हाल प्रत्येक बालबालिकाबाट एक हजार रुपैयाँ शुल्क लिइने छ । प्रशिक्षण बुढानिलकण्ठ नगरपालिका वडा नं.१० स्थित कपन स्पोर्टस् सेन्टर (सीएससी)मा हुनेछ । आयोजकका अनुसार उक्त सुरुवाती प्रशिक्षणपश्चात आफ्नो समय तालिका प्रकाशन गरी प्रशिक्षणका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने छ ।