काठमाडौं । ललितपुर मेयर्स कप महिला टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । बिहिवार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गरि एपिएफ लगातार तेस्रो पटक च्याम्पियन बनेको हो ।
विभागिय टोली एपीएफले जितको लागि दिएको १ सय ५५ रनको विशाल लक्ष्य पछ्याएको कोशी प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो । कोशीकी कप्तान रुविना क्षेत्रीले ४१ बलमा ४ चौकासहित सर्वाधिक ३५ रन बनाइन् ।
लकिता राजवंशी २१ बलमा २ चौकासहित २१ रनमा अविजित रहिन् । अप्सरी बेगमले २४ बलमा १ चौकासहित १० रन बनाईन् । नमिता श्रेष्ठ ११ बलमा १ चौकासहित ७ रनमा रन आउट भइन् । स्मृति कटवाल ८ रनमा र काजोल श्रेष्ठ ६ रनमा आउट भइन् ।
एपीएफका लागि बिनु बुढाले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । नेरी थापाले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिइन् । रेखा रावल र सोनु खड्काले समान १/१ विकेट लिइन् ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा १ विकेटको क्षतीमा १५४ रनको विशाल लक्ष्य बनाएको थियो । यो लक्ष्य ललितपुर मेयर्स कपको इतिहासकै सर्वाधिक उच्च स्कोर हो । यसअघि, पहिलो संस्करणमा ललितपुर मेयर्स ११ ले लुम्बिनीविरुद्ध ५ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो ।
एपीएफका लागि ओपनर तथा कप्तान सीता राना मगरले ६८ बलमा ९ चौका र २ छक्कासहित अविजित ७९ रनको अर्धशतकीय ईनिङ खेलिन् । ललितपुर मेयर्स कपमा एक ब्याटरले बनाएको यो सबैभन्दा उच्च योगफल हो । यसअघि, पहिलो संस्करणमा ललितपुर ११ की सुमन खतिवडाले ५२ बलमा ९ चौका र २ छक्कासहित ७७ रन जोडेकी थिइन् ।
उपकप्तान इन्दु बर्माले ४१ बलमा ५ चौका र १ छक्कासहित अविजित ५१ रनको अर्धशतकीय ईनिङ खेलिन् । १८ रन जोड्दा पहिलो विकेट गुमेको अवस्थामा सीता र इन्दुले १ सय ३६ रनको सानदार अविजित कीर्तिमानी शतकीय साझेदारी गर्दै विशाल योगफल बनाएका थिए ।
ललितपुर मेयर्स कपको कुनैपनि विकेटको लागि भएको उच्च साझेदारी हो । यसअघि, पहिलो संस्करणमा ललितपुर ११ की सुमन खतिवडा र अश्मिना कर्माचार्यले छैटौं विकेटका लागि लुम्बिनीविरुद्ध १ सय ८ रनको अविजित साझेदारी गरेका थिए ।
कोशीका लागि एलिसा खडियाले एक विकेट लिइन् । यसअघिका दुबै संस्करणको उपाधि एपिएफले फाइनलमा सुदूरपश्चिमलाई समान ८/८ विकेटले हराउँदै जितेको थियो । चैत ९ गतेदेखि शुरु भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब, मधेश प्रदेश र ललितपुर मेयर्स ११ गरि ५ टोलीको सहभागिता रहेको थियो ।