काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङमाथि खुमलटारले रोमाञ्चक जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा एफसी खुमलटारले मनाङ मर्स्याङ्दी क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
खुमलटारको जितमा क्यामरुनी फरवार्ड मेसुके ओलुमोउले दुई गोल गरे । मनाङका कोफी टिमोथी कुडोले एक गोल फर्काएका थिए । रोमाञ्चक खेलमा कोफी टिमोथी कुडो पेनाल्टीमा चुक्दा मनाङले हार व्यहोर्नु परेको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका मेसुके ओलुमोउ ‘प्लेयर अफ द म्याच’ भए ।
खेलको १३ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५३ औं मिनेटमा मनाङका कोफी टिमोथी कुडोले पेनाल्टीमा गोल गर्दै मनाङलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । खुमलटारका विशाल बस्नेतले पेनाल्टी बक्सभित्र सुमित श्रेष्ठलाई लडाएपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो ।
तर, खेलको ६१ औं मिनेटमा टिमोथी कोडु पेनाल्टीमा चुक्दा मनाङ अग्रता लिनबाट चुकेको थियो । खुमलटारका अविशेक वर्माले मनाङका रन्दिप पौडेललाई पेनाल्टी बक्सभित्र फउल गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो । टिमोथी कोडुको पेनाल्टी बारबाट थोरै बाहिरियो ।
त्यसपछि, इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २-१ को जित दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोलको थुप्रै अवसर गुमाएका थिए ।
जारी लिगमा खुमलटारको यो चौंथो जित हो । जितसँगै खुमलटार ११ खेलबाट ४ जित, १ बराबरी र ६ हारका साथ १३ अंक जोडेर ११ औं स्थानमा उक्लिएको छ । जारी लिगमा मनाङको यो लगातार चौथो हार हो । पराजित मनाङ ११ खेलमा ४ जित, ३ बराबरी र ४ हारका साथ १५ अंक जोडेर सातौं स्थानमा झरेको छ ।