काठमाडौं, फागुन २९ । नेपाल ब्याडमिन्टन संघको आयोजनमा योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७७ चैत्र १५ देखि १८ गतेसम्म आयोजना हुने भएको छ ।
दशरथ रङ्गशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष तथा महिला एकल र युगल, मिश्रित युगल, ब्वाईज तथा गल्र्स यु–१७ र भेट्रान्स युगल ४५ गरी आठ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।
र्याङ्किङ्ग प्रतियोगिता समेत रहेको च्याम्पियनसिपमा नेपाल ब्याडमिन्टन संघसंग आवद्ध जिल्ला ब्याडमिन्टन संघ र आवद्ध हुन बाँकी जिल्ला, विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफल क्बलका खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् ।
करिब २७ लाखको अनुमानित बजेट रहेको च्याम्पियनसिपमा पुरुष तथा महिला एकलका शीर्ष तीन बिजेताले नगद ५० हजार, २५ हजार र १२ हजार पाँच सयसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यस्तै युगलतर्फका शीर्ष तीनले नगद ३० हजार, १५ हजार र सात हजार पाँच सयसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै यु–१७ ब्वाईज तथा गल्र्सका शिर्ष तीन बिजयीले नगद २० हजार, १० हजार र पाँच हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
बिश्व ब्याडमिन्टन महासंघको नियमानुसार खेलाईने च्याम्पियनसिपका लागि प्रत्येक जिल्लालाई पुरुष तथा महिला शीर्ष १६ वरियता बाहेक दुई पुरुष र दुई महिला कोटा प्रदान गरिएको छ । यस्तै यु–१७ तर्फ पनि प्रत्येक जिल्लाका लागि दुई पुरुष र दुई महिलाको कोटा प्रदान गरिएको र प्रत्येक टिममा एक जना प्रशिक्षक र एक व्यवस्थापक रहने छन् ।
कोटामा परेका प्रत्येक खेलाडीहरु, प्रशिक्षक र व्यवस्थापकले खान बस्नका लागि नगद आठ सय सुविधा प्राप्त गर्ने छन् । कोटाभन्दा बाहेकका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले खानेबस्ने व्यवस्था आफैले गर्नु पर्नेछ ।