काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हराएको हो ।
चितवनले दिएको १३० रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १६.४ ओभरमा लक्ष्य पुरा गरेको थियो । सुदूरपश्चिमका लागि ब्राण्डन म्याकुलनले सर्बाधिक ४३ रन बनाएका थिए ।
यस्तै, इशान पाण्डेले २५ रन, शेरफान रुदरफोर्डले अविजित २१ रन र आरिफ सेखले २० रन बनाएका थिए । बलिङतर्फ चितवनका लागि रञ्जित कुमारले ३ विकेट लिए भने रिजन ढकाल र मौसम ढकालले समान १/१ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउदै १२९ रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले ४० बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४९ रनको योगदान दिए ।
यस्तै, विवेक यादवले १७ रन, डेविड मलानले १६ रन तथा अर्जुन साउद र कप्तान सिकन्दर रजाले समान १५/१५ रन जोडेका थिए । बलिङतर्फ सुदूरपश्चिमका लागि स्कट कुगलेइनले २ विकेट तथा हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले समान १/१ विकेट लिएका थिए ।
यो जितपछि सुदूरपश्चिमको ४ खेलमा ४ अंक भएको छ भने चितवनको ३ खेलमा ३ अंक रहेको छ । मंगलबार एनपीएलमा २ खेल रहेका छन् । पहिलो खेल दिउँसो १२:३० मा जनकपुर बोल्ट्स र विराटनगर किंग्सले खेल्नेछन् भने दोस्रो खेलमा अपरान्ह ५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सले खेल्नेछन् ।