भक्तपुर, चैत ३ । भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौडा उपमहानगरपालिकाले हात पारेको छ । सातौं तथा अन्तिम चरणको खेलमा २.५—१.५ अंकले पराजित गरी कूल १३ अंकसहित हेटौडाले उपाधि हासिल गरेको हो ।
उपाधिसँगै हेटौडाले आकर्षक ट्रफि र नगद एक लाख ५० हजार रुपैयाँ पाएको छ । फाइनल खेलमा भिमेश्वर नगरपालिकाका लागि सुमित पन्तले बर्तमान नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंलाई माथ गरे । तर हेटौडाका सुरबीर लामाले भिमेश्वर नपाका आशिष फूयाँल, रुपेश जैसवालले सुदिप तामाङलाई हराए भने मनिष हमाल र क्षितिज भण्डारीबीच बराबरी भयो ।
त्यसैगरी, समान ११ अंक प्राप्त गरे पनि म्याच प्वाइन्टका आधारमा ललितपुर महानगरपालिका दोश्रो र काठमाडौं महानगरपालिका तेश्रो स्थानमा रहे । भक्तपुरको जगातिस्थित महेश्वरी बैंक्वेटमा संचालित खेलमा ललितपुरका सजिन महर्जनले केशव श्रेष्ठ, बद्रिलाल नेपालीले रिजेन्द्र राजभण्डारी, सरोज महर्जनले नबिन तण्डुकार र सुमन राईले राजेन्द्र बज्राचार्यसित बराबरी खेलेका थिए ।
ललितपुरले आकषर्क ट्रफि र नगद एक लाख र काठमाडौंले आकषर्क ट्रफि र नगद ५० हजार पाए । स्वीस लिग ७ राउण्डको खेल भएको प्रतियोगितामा ब्यक्तिगत प्रदर्शनमा बोर्ड नं.१ मा टोखा नपाका मिलन लामा, बोर्ड नं.२ मा भक्तपुर नपाका निकेन कुसाथा, बोर्ड नं.३ मा दमक नपाका चन्द्रप्रकाश नेपाल, बोर्ड नं.४ मा हेटौडा उपमनपाका रुपेश जैसवाल र बोर्ड नं.५ मा भक्तपुर नपाका केशब मानन्धर उत्कृष्ट घोषित भए । उनीहरुले जनही नगद पाँच हजार प्राप्त गरे ।
चार दिने प्रतियोगितामा देशभरबाट २२ वटा नगरपालिकाहरु सहभागी थिए । प्रतियोगिताका बिजयी तथा सहभागीहरुलाई आयोजक भक्तपुर नपाका मेयर सुनिल प्रजापतिको सभापतित्वमा सांसद प्रेम सुवाललगायतले ट्रफि, मेडल, प्रमाणपत्र एवं नगद पुरस्कार वितरण गरेका हुन् ।