काठमाडौं । यूएईसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा युएईसँग नेपाल ८४ रनले पराजित भएको हो । युएईले तीन खेलको शृंखलामा १-० को अग्रता बनाएको छ ।
युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको घरेलु टोली नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरी र ओडीआईमा डेब्यू गरेका अर्जुन साउदले अर्धशतक बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
दीपेन्द्रले ८४ बलमा ६ चौकासहित ५४ रन बनाए । यस्तै अर्जुनले ७९ बलमा पाँच चौकासहित ५१ रन बनाए । गुल्सन झाले १९ र आसिफ शेखले १२ रन बनाउनुबाहेक नेपालका अरू ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका कप्तान रोहित पौडेल एक रनमा पभेलियन फर्किए ।
नेपाललाई सस्तैमा रोक्न यूएईका आयान खानले चार विकेट लिए । बसिल हामिदले २ तथा जाहोर खान, रोहन मुस्तफा र अहमेद राजाले १/१ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो । युएईका लागि रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय पारी खेले । उनले ७३ बल खेलेका ७ चौका प्रहार गरे । यस्तै मुहमद वासिमले ४४ रन बनाउँदा भ्रित्य अरभिन्दले ४० रनको योगदान गरे ।
यूएईका लागि एलिशन शाराफुले २९ रन बनाए भने आयन हफ्जल खानले २६ रन जोडे बसिल हामिदले १४ रनको योगदान गरे । कप्तान सिपि रिजवान २ रनमा आउट भए । नेपालका गुलशन झाले दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिए ।
नेपालले यूएईसँग तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । दोस्रो एकदिवसीय कात्तिक ३० गते बुधबार तथा तेस्रो खेल मंसिर २ गते शुक्रबार हुनेछ ।