काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ र एपीएफले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र १० खेलाडीमा समेटिएको एपीएफ फुटबल क्लबले २-२ गोलको रोमान्चक बराबरी खेल्दै अंक बाडेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा मनाङले अग्रता जोगाउन नसक्दा एपीएफसँग अंक बाँड्न बाध्य बन्यो । मनाङका लागि कोफी कोउडु र सुमित श्रेष्ठले समान एक/एक गोल गर्दै दुई पटक अग्रता लिएपनि एपीएफका कप्तान नविन लामा र अर्मान्ड बिडोमले समान एक/एक बराबरी गोल फर्काएका थिए ।
खेलको १३ औं मिनेटमा कोफी कोउडुले पेनाल्टीबाट गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । एपीएफका विश्वास उदासले पेनाल्टी क्षेत्र भित्र सुमित श्रेष्ठलाई लडाएपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो । यस्तै, रेफ्री प्रज्वल क्षेत्रीले विश्वासलाई सिधै रातो कार्ड देखाएपछि एपिएफ १० खेलाडीमा समेटिएको थियो ।
तर, खेलको २० औं मिनेटमा नविन लामाले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । खेलको २६ औं मिनेटमा डिवान्डु डियाग्नेलेको पासमा सुमित श्रेष्ठले गोल गर्दै मनाङलाई पुन: २-१ को अग्रता दिलाएका थिए ।
त्यसपछि, खेलको ६४ औं मिनेटमा नविन लामाको फ्रिकिकमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई २-२ गोलको बराबरी ल्याएर हारबाट जोगाएका थिए । एपीएफका कप्तान नविन लामा खेलको ‘म्यान अफ दी म्याच’ चुनिए । एपिएफविरुद्ध पहिलो लेगमा मनाङले २-१ को जित निकालेको थियो ।
यस बराबरीसँगै मनाङ २० खेलबाट ५ जित, ९ बराबरी र ६ हारका साथ २४ अंक जाेडेर आठौं स्थानमा यथावत रहेको छ । बराबरीसँगै एपिएफ २० खेलमा ६ जित, ५ बराबरी र ९ हारका साथ २३ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।