काठमाडौं । खराब ब्याटिङ प्रदर्शनसँगै मलेसियासँग टि-२० अन्तराष्ट्रियमा नेपाली महिला क्रिकेट टोली पहिलो पटक पराजित भएको छ । सोमवार वाइएसडी यूकेएम ओभलमा भएको खेलमा मलेसियाले नेपाललाई ५ विकेटले हराएको हो ।
जितसँगै घरेलु टोली मलेसियाले पाँच खेलको सिरिजमा १-० को अग्रता लिएको छ । यसअघि मलेसियासँग महिला टि-२० अन्तराष्ट्रियमा तीन खेल खेल्दा नेपाल अपराजित रहेको थियो ।
नेपालले जितको लागि दिएको ५१ रनको सामान्य विजयी लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा ओपनर वान जुलियाले २२ बलमा २ चौकासहित सर्वाधिक १३ रनको योगदान दिइन् । हामिजाह हशिमले १५ बलमा २ चौकासहित अविजित १२ रन तथा आइना नजवाले ८ रन बनाईन् ।
नेपालका लागि कप्तान रुविना क्षेत्रीले ४ ओभरमा ७ रन खर्चेर २ विकेट लिइन् । सीता रानामगरले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवरले २ ओभरमा ४ रन खर्चेर १ विकेट लिइन् ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६.५ ओभरमा अलआउट हुदै ५० रनमा समेटिएको थियो । नेपालको लागि डेब्यू खेलमा सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् । ज्योती पान्डेले ११ रन बनाउँदा नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले ४१-३ को अवस्थाबाट ५० रनमा सबै विकेट गुमाएको थियो ।
मलेसियाका लागि निक अतिलाले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् । ऐश्या एलिसा २ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् । हमिजाहले ३.५ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । महिराह इश्लामीले ४ ओभरमा ३ रन खर्चेर २ विकेट लिइन् । नेपालले दोस्रो खेल भोली खेल्नेछ । नेपालले जेठ १८ मा तेस्रो खेल, जेठ २० मा चौथो खेल र जेठ २१ मा पाँचौं खेल खेल्नेछ ।
नेपालको टोली :
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्याति पाण्डे र सरस्वती चौधरी ।