काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले दोस्रो महिला टि-२० अन्तराष्ट्रियमा मलेसियामाथि शानदार जित निकालेको छ । मंगलबार वाइएसडी यूकेएम ओभलमा भएको खेलमा नेपालले घरेलु टोली मलेसियामाथि ७ विकेटको शानदार जित हात पारेको हो ।
सोमवार भएको पहिलो खेलमा मलेसियाले नेपाललाई ५ विकेटले हराएको थियो । योसँगै नेपालले पाँच महिला टि-२० अन्तराष्ट्रिय सिरिजमा १-१ को बराबरी गर्न सफल भएको छ । नेपालले जेठ १८ मा तेस्रो खेल, जेठ २० मा चौथो खेल र जेठ २१ मा पाँचौं खेल खेल्नेछ ।
मलेसियाले जितको लागि दिएको ९७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रुविना क्षेत्रीले २१ बलमा ३ चौका र १ छक्कासहित अविजित २९ रन बनाईन् । सम्झना खड्का २ रनमा नटआउट रहिन् ।
त्यस्तै, ओपनर कविता कुँवर ४३ बलमा २ चौकासहित २६ रनमा क्याच आउट भइन् भने सीता रानामगर २२ बलमा २ चौका र १ छक्कासहित २३ रनमा बोल्ड आउट भइन् । विन्दु रावल १८ बलमा २ चौकासहित १७ रनमा क्याच आउट भइन् । मलेसियाका लागि ऐश्या एलिसा, निक नुर अतिला र विनीफ्रन्ड आनीले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । घरेलु टोली मलेसियाको लागि मास एलिसा यासमिन जुक्किफीले ३४ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाएकी थिइन् ।
त्यस्तै, वान जुलियाले ३५ बलमा २० रन बनाइन् भने विनीफ्रेदले २६ बलमा ३ चौकासहित २० रन बनाइन् । हामिजाह हाशिम १६ बलमा १४ रन बनाउँदै नटआउट रहिन् । नेपालका लागि रुविना क्षेत्रीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । इन्दु बर्मा ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिइन् भने कविता कुँवरले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिइन् ।
नेपालको टोली :
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्याति पाण्डे र सरस्वती चौधरी ।