काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अर्को महिना जिम्बाबेमा हुने आइसीसी विश्वकप छनोटका लागि अन्तिम तयारी गर्न दक्षिण अफ्रिका प्रस्थान गरेको छ । मुख्य प्रशिक्षक मोन्टी देशाइ र नेपाली टोलीका महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेबिनै नेपाली टोली गएराति साढे दुई बजे दक्षिण अफ्रिका गएको हो ।
नेपाल टोलीका प्रमुख स्पिनर सन्दीप बलात्कार आरोपको पेशी र प्रशिक्षक मोन्टी भिसाको कारण टोलीसँग नगएका भएका हुन् । बलात्कारको आरोप लागेका सन्दीप अदालतको अन्तिम फैसलाको प्रतिक्षामा छन् । उनको अन्तिम फैसला नआएसम्म क्यानले विदेश भ्रमणमा नपठाउने जनाएको छ ।
क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीपको एक हप्तापछि पेशी भएको हुँनाले आउने जाने गाह्रो हुने भन्दै नपठाउने निर्णय गरेको बताए । पेशीमा सन्दीप आफै उपस्थित हुनुपर्नेछ । पाठकले भने, सन्दीपको एक हप्तामा फैसला आएमा पठाउँछौं नत्र पठाउँदैनौं ।
उता मुख्य प्रशिक्षक मोन्टी देशाइ अमेरिका गएका थिए । तर, भिसा नलागेपछि उनी त्यतैबाट भारत गएका छन् । त्यसैको कारण उनी पनि टोलीमा हुने छैनन् । मोन्टी भिसा आउने बितिक्कै दक्षिण अफ्रिका जानेछन् ।
दक्षिण अफ्रिकाबाट नेपाली टोली जिम्बावे जानेछ । विश्वकप छनोटअघि नेपालले दक्षिण अफ्रिकाका, नेदरल्याण्ड र स्कटल्याण्डसँग अभ्यास खेल खेल्नेछ । एक हप्ताको तयारीपछि नेपाल जेठ २८ गते जिम्बावे लाग्नेछ । जिम्बाबेमा नेपालले जेठ ३० गते युएई र जेठ ३२ गते ओमानसँग अभ्यास खेल खेल्नेछ ।
विश्वकप छनोटको समुह ए मा नेपाल, आयोजक जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् । प्रतियोगिता असार ३ गतेदेखि २४ गतेसम्म हुनेछ । नेपालले असार ३ गते जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
नेपालले त्यसपछि असार ५ मा अमेरिकासँग खेल्नेछ भने असार ७ मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । समूहका शीर्ष ३ टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । छनोट खेलबाट दुई टिमले यसै वर्ष भारतमा हुने विश्वकप यात्रा तय गर्नेछन् ।
नेपालको टोली :
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद, किशोर महतो ।