काठमाडौं । रोमालाई हराउदै स्पेनिस क्लब सेभियाले कीर्तिमानी सातौंपटक युरोपा लिगको उपाधि जितेको छ । हंगेरीको पुस्कास एरिना बुढापेस्टमा बुधबार राति भएको फाइनलमा इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले हराउँदै सेभिया च्याम्पियन बन्न सफल भएको हो ।
प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा टुंग्एिको थियो । त्यसपछि, थप गरिएको ३० मिनेटमा गोल निस्कन नसक्दा पेनाल्टी सुटआउटमा सेभियाले बाजी मार्न सफल भएको थियो ।
खेलको ३५ औं मिनेटमा जियानलुका मान्सिनीको पासमा पाउलो डिबाला गोल गर्दै रोमालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५५ औं मिनेटमा मान्सिनीले आत्मघाती गोल गरेसँगै सेभिया १–१ गोलको बराबरीमा फर्किएको थियो ।
खेलको ७५ औं मिनेटमा सेभियाले पाएको पेनाल्टीलाई भीएआरले मान्यता नदिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा सेभियाका लुकास ओकम्पास, एरिक लमेला, इभाना राकिटिच र गोन्जालो मोन्टिएलले गोल गरेका थिए ।
रोमाका रोजर इबानेज र जियानलुका मान्सिनी पेनाल्टीमा चुकेका थिए भने ब्रायन क्रिस्टान्टेले मात्रै गोल गर्न सफल भएका थिए । रोमा दुईपटक फाइनल पुगेपनि उपाधि भने जित्न सकेन । यसअघि सन् १९९१ को फाइनलमा रोमालाई हराउदै इन्टर मिलान च्याम्पियन बनेको थियो ।
सर्वाधिक सातौं पटक उपाधि जितेको सेभिया यसअघि सन् २००६, २००७, २०१४, २०१५, २०१६ र २०२० मा च्याम्पियन बनेको थियो । युरोपा लिगमा सेभियापछि इन्टर मिलान, लिभरपुल, युभेन्ट्स र एट्लेटिको मड्रिडले समान तीन पटक उपाधि जितेका छन् ।