काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले तेस्रो महिला टि-२० अन्तराष्ट्रियमा मलेसियामाथि सहज जित निकालेको छ । मलेसियाको बांगीमा बिहिबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियामाथि २७ रनको सहज जित हात पारेको हो ।
लगातार दोस्रो जितसँगै पाहुना टोली नेपालले पाँच खेलको सिरिजमा २-१ को अग्रता लिएको छ । मंगलबार वाइएसडी यूकेएम ओभलमा भएको दोस्रो खेलमा नेपालले मलेसियामाथि ७ विकेटको शानदार जित हात पारेको थियो । त्यसअघि, सोमवार भएको पहिलो खेलमा मलेसियाले नेपाललाई ५ विकेटले हराएको थियो ।
नेपालले जितको लागि दिएको १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन मात्र जोड्न सक्यो । मलेसियाको लागि महिराह इजाती इस्मालीले ५४ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४४ रनमा नटआउट रहेपनि घरेलु टोलीको हार टार्न सकिनन् ।
ओपनर विनिफ्रेड दुराईसिंघमले ३८ बलमा १ चौकासहित २० रन बनाउँदा मलेसियाली अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि सिताराना मगर, इन्दु बर्मा र कविता कुँवरले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १० रनको योगफल तयार पारेको थियो । नेपालको लागि कप्तान रुविना क्षेत्रीले १५ बलमा ३ चौका र १ छक्कासहित २७ रनको आक्रामक इनिङ खेलेकी थिइन् ।
नेपालले दोस्रो ओभरमानै व्यक्तिगत २ रनमै ओपनर कविता कुवँरलाई गुमाएको थियो । तर, दोस्रो विकेटका लागि सीताराना मगर र ज्योति पाण्डेले ३५ रनको साझेदारी गरेका थिए । ज्योति २४ बलमा ३ चौकासहित २३ रनमा तथा सीता ३५ बलमा २१ रनमा बनाउँदै क्याच आउट भइन् ।
इन्दु बर्माले ३० बलमा २० रन बनाइन् । बिन्दु रावल ३ रनमा तथा कविता जोशी १ रनमा अविजित रहिन् । मलेसियाका लागि निक नुर अतिएलाले २ विकेट तथा एसा इलिसा र विनिफ्रेड आनी दुराईसिंघमले समान १/१ विकेट लिएका थिए । नेपालले मलेसियासँग चौथो खेल शनिबार र पाँचौं खेल आइतबार खेल्नेछ ।