काठमाडौं । ई-स्पोर्ट्स संघ नेपाल (इशान)को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा हुन लागेको दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपका लागि उल्लेख्य संख्यामा नाम दर्ता भएको छ । ई-स्पोर्ट्स संघ नेपालका अनुसार च्याम्पियनसिपका विभिन्न ६ विधाका लागि ११ हजारभन्दा बढी खेलाडीले नाम दर्ता गराएको हो ।
च्याम्पियनसिपमा पब्जी मोबाइल, ई-फुटबल, मोबाइल लिजेण्ड्स, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ६ विधामा प्रतिस्पर्धा गराइने छ । इ फुटबलमा २ हजार ५ सय १९ जनाले नाम दर्ता गराएका छन् । यसैगरी, पब्जी मोबाइलमा १ हजार ३९ टिम, मोबाइल लेजेण्ड्समा २ सय ८१ टिम, भारोलेरेन्टमा ६६ टिम, डोटा टु मा ५८ टिमले नाम दर्ता गराएका छन् । कसप्ले विधामा भने अझै दर्ता खुल्ला नै राखिएको छ । नेपाल प्लेजमा एमडी उज्जेन लाल श्रेष्ठले सबै विधामा गरेर ११ हजार पाँच सयभन्दा बढी खेलाडीले नाम दर्ता गराएको बताए । त्यसमा टिमको रुपमा गणना गर्दा भने ४ हजार भन्दा बढी टिम हुनेछ ।
च्याम्पियनसिपको क्वालिफायर राउण्डका खेलहरु माघ १४ देखि १८ गतेसम्म (जनवरी २७–३१) सम्म हुनेछ । यसैगरी समूह चरण र प्लेअफका खेलहरु माघ २० देखि फागुन २ गतेसम्म (फेब्रुअरी २-१४) सम्म हुनेछ । क्वालिफायर र प्लेअफका खेलहरु अनलाइनमा हुनेछ भने अन्तिम चरणको खेल मात्र भौतिक रुपमा (ल्यान इभेन्ट) हुनेछ । च्याम्पियनसिपको अन्तिम चरणको खेल आगामी फागुन ८ देखि १० गतेसम्म भौतिक रुपमै त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा आयोजना गरिने इशानले जनाएको छ ।
अन्तिम चरणमा पब्जीतर्फ १६ टिमले प्रतिस्पर्धा गर्ने छन् । पब्जीमा हरेक टिममा ४ जना मुख्य खेलाडी हुने छन् भने १ अतिरिक्त खेलाडी र १ म्यानेजर हुने छन् । यसैगरी, मोबाइल लेजेण्ड्समा २ टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने छन् । यसमा हरेक टिममा ५ जना खेलाडी हुने छन् भने एक अतिरिक्त खेलाडी र १ म्यानेजर हुने छन् । ई-फुटबलमा अन्तिम चरणमा ३२ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । यसैगरी, डोटा टू र भ्यालोरेन्टमा ४-४ टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने छन् । कस प्ले मा भने कुनै लिमिटेसन राखिएको छैन । उनीहरुले फेसन सो शैलीमा स्टेजमा डेमो देखाउने छन् । च्याम्पियनसिपको कुल प्राइज पुल २५ लाख रहेको छ । जसबाट ६ विधाको विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिने छ ।
हरेक इभेन्टको पुरस्कार राशी फरक हुनेछ । जसमा पब्जी मोबाइल सबैभन्दा चर्चित विधाको रुपमा छ र यसमा कूल १० लाख १० हजार पुरस्कार राशी राखिएको छ । जसमा विजेताले नगद २ लाख ५० हजार पाउने छन् । यस्तै, दोस्रोले १ लाख ८० हजार तथा तेस्रोले १ लाख २० हजार पाउने छन् भने अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाउने छन् । यस विधामा एमभीपीले पनि नगद पुरस्कार पाउने छन् । यस्तै, मोबाइल लेजेण्ड्समा ५ लाख २० हजार पुरस्कार राशी रहेको छ । जसमा विजेताले १ लाख ८२ हजार हात पार्ने छन् भने उपविजेताले १ लाख ४ हजार पाउने छन् । यसमा शीर्ष ८ मा रहनेले नगद पुरस्कार प्राप्त गर्ने छन् । यस विधामा पनि एमभीपीले नगद पुरस्कार पाउने छन् ।
भ्यालोरेन्टमा ३ लाख, इ-फुटबलमा २ लाख १० हजार, डोटा टु मा २ लाख र कस प्लेमा १ लाख ५० हजार पुरस्कार राशी रहेको आयोजकले जनाएको छ । भ्यालोरेन्ट र डोटा टु को विजेताले समान १ लाख ५ हजार हात पार्ने छन् भने इ फुटबलमा विजेताले ९० हजार र कस प्ले विजेताले ७० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । भ्यालोरेन्ट र डोटा टु मा पनि शीर्ष ८ मा रहनेले नगद पुरस्कार पाउने छन् भने इ फुटबल र कसप्लेमामा शीर्ष चारमा रहनेले नगद पुरस्कार पाउने छन् । मोस्ट पपुलर कसप्लेअरले पनि नगद पुरस्कार पाउने छन् ।
पछिल्लो समय नेपालमा ई-स्पोर्ट्स खेलको गतिविधि बढिरहेको र नेसनल च्याम्पियनससिपको दोस्रो संस्करणमै ठूलो माहोल बनेको इशानका अध्यक्ष अन्जन धमलाले बताए । अन्तिम चरणको खेललाई रोमाञ्चक र आकर्षक तरिकाले आयोजना गर्ने तयारी भइरहेको नेपाल प्लेजका एमडी उज्जेनलाल श्रेष्ठले जानकारी दिए ।