काठमाडौं । ज्ञान निकेतन, नेरिक एकेडेमी र रोज बडले १०औँ इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ज्ञान निकेतन सिनियर ब्वाइज, नेरिक एकेडेमी जुनियर ब्वाइज र रोज बड सिनियर गर्ल्समा च्याम्पियन बनेका हुन् ।
बुद्धनगरस्थित आयोजक इनोभेटिभको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ज्ञान निकेतनले नेरिकलाई ४२–३० ले पराजित गर्यो । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले १३ अंक जोडे । जुनियर ब्वाइजको फाइनलमा नेरिकले ज्ञान निकेतनलाई ३२–२२ ले हरायो । नेरिकका सविन खत्रीले १२ स्कोर गरे । सिनियर गर्ल्सको उपाधि भिडन्तमा रोज बडले मातृभूमिलाई १६–१४ ले पाखा लगायो । रोज बडकी अविस्का थापाले ८ अंक जोडिन् ।
सिनियर ब्वाइजमा ज्ञान निकेतनका सवाज मन्सुर खान, जुनियर ब्वाइजमा सविन खत्री र सिनियर गर्ल्समा अविस्का थापा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा नेरिकका सुशल मगर, जुनियर ब्वाइजमा ज्ञान निकेतनका करण राई र सिनियर गर्ल्समा मातृभूमिकी श्रृति कुटु प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । सिनियर ब्वाइजमा क्याम्पियन काठमाडौं, जुनियर ब्वाइजमा काभ्या र सिनियर गर्ल्समा नेपाल मेगाले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई काठमाडौं महानगरपालिका वडा १० का अध्यक्ष रामकुमार केसी र सदस्य सतिश तण्डुकार, बास्केटबल प्रशिक्षक नृपेश श्रेष्ठ, इनोभेटिभका निर्देशक हर्क थापा, प्रिन्सिपल विजय थापा, भाइस प्रिन्सिपल तस्निम मुजैदलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ १३ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा १४, जुनियर ब्वाइजमा १० र सियिनर गर्ल्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।