काठमाडौं । नेपालले पछिल्लोपल्ट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशविरुद्ध साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो । उक्त खेलमा नेपाल २–१ ले पराजित हुँदै उपविजेतामा सीमित भयो । त्यसयता घरेलु महिला लिगमा व्यस्त नेपाली टोली अब इन्टरनेशनल वुमेन्स च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय खेलमा पुनरागमन गर्ने छ ।
यो प्रतियोगिता फागुन ४ देखि १५ गतेसम्म दशरथ रंगशालामा आयोजना हुनेछ । प्रतियोगितामा घरेलु टोली नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमार सहभागी हुने छन् । नेपाली टोलीलाई वाफ महिला च्याम्पियनसिप र साफ च्याम्पियनसिपमा उपविजेता बनाएका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टोलीको बन्द प्रशिक्षण गराइरहेका छन् । हाल ३५ खेलाडी प्रशिक्षणमा छन् । ‘केही खेलाडी विदेशमा छन् भने केही व्यक्तिगत कारणले उपस्थित हुन सकेका छैनन्,’ तामाङले भने । एन्फा महिला लिगको च्याम्पियन एपिएफ क्लबका खेलाडीहरूको वर्चस्व रहेको यो प्रशिक्षणमा कप्तान अनिता बस्नेतसहित १५ खेलाडी सहभागी छन् । उनीबाहेक अञ्जिला तुम्बापो सुब्बा, गीता राना, निशा थोकर, मनमाया दमाई, रेनुका नगरकोटे, साबित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, सरु लिम्बू, प्रीति राई, अनिता केसी, सविता रानामगर, रेनुका हमाल, साबित्री किशन र प्रतीक्षा चौधरी समेटिएका छन् ।
लिग उपविजेता नेपाल पुलिस क्लबबाट उषा नाथ, अमृता जैशी, समीक्षा घिमिरे, पूजा राना, सम्झना लावती, रेखा पौडेल र बिर्सना चौधरी समेटिएका छन् । त्रिभुवन आर्मी क्लबबाट अञ्जना रानामगर, विमला चौधरी, विमला विक, चन्द्रा भण्डारी र हिमा चौधरी बन्द प्रशिक्षणमा छन् । बागमती युथ क्लबबाट सुजाता तामाङ, पुष्पाकुमारी खड्का, सहारा लिम्बू, सेमिहाङ्मा लिम्बू पन्धाकले स्थान बनाएका छन् भने वालिङ नगरपालिकाबाट सुष्मा तामाङ, सुकृया मियाँ र मिना देउवा पनि अटाएका छन् ।
संकटा फुटबल क्लबबाट यशोदा शाही र चन्द्रपुर नगरपालिकाकी सजनी ठोकरलाई पनि बन्द प्रशिक्षणमा राखिएको छ । कोशीबाट झुमा विश्वकर्मालाई पनि समावेश गरिएको छ । बन्द प्रशिक्षणमा ३९ खेलाडी बोलाइए पनि चार खेलाडी अनुपस्थित रहेको मुख्य प्रशिक्षक तामाङले बताए । ‘साम्बा, अञ्जिला र रेखा आउन बाँकी छन् भने अमिषा लेफ्टिनेन्टको प्रशिक्षणमा भएकाले टोलीमा फर्किने निश्चित छैन,’ उनले भने । मुख्य प्रशिक्षक तामाङले एक हप्ताभित्र खेलाडीको संख्या घटाउने तयारी गरिरहेका छन् । उनलाई सहायक प्रशिक्षक श्याम मानन्धर, भगवती थापा र गोलकिपिङ प्रशिक्षक सुरज मोक्तानले सहयोग गरिरहेका छन् ।