काठमाडाैं, २३ साउन – आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) र ग्रीनल्यान्डले दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार विजयी सुरुआत गरेका छन् ।
टोखास्थित घरेलु कोर्टमा केभीकेएसएसले सेवा सदनलाई २४–२० ले पराजित ग¥यो । केभीकेएसएसको जितमा कविन थापाले १० अंक योगदान गरे । राजिव आलेको २१ अंक सहयोगमा ग्रीनल्यान्डले टीआईएलाई ४८–४६ को साँघुरो अन्तरले हरायो ।
ब्वाइजमै डिफेन्डिङ च्याम्पियन ह्यापी हिमालय चाइल्ड एकेडेमी (एचएचसीए) ले स्किब्सलाई ८१–६०, चाँदबागले दीपज्योतिलाई ३१–१८ र स्वेता सदनले लुनारलाई २०–१९ ले पन्छाए । एचएचसीएका प्रवीण राईले १६, चाँदबागका राजदीपसिंह कार्कीले १४ र स्वेता सदनका अरुण पण्डितले १० स्कोर गरे ।
गल्र्समा ग्रीनल्यान्डले स्किब्सलाई २६–१०, भ्याली पब्लिकले साविक विजेता एचएचसीएलाई ४३–३०, टीआईएले दीपज्योतिलाई १५–६ र चाँदबागले त्रियोगलाई १७–१२ ले पाखा लगाए । ग्रीनल्यान्डकी आरिश्का खड्काले ८, भ्याली पब्लिककी सुमिना तामाङले १६, टीआईएकी रिन्चिन मोक्तानले ६ र चाँदबागकी रोजी राईले ७ अंक जोडे ।
प्रतियोगिताको टोखा नगरपालिका वार्ड नं. ८ का अध्यक्ष केशवबहादुर खत्रीले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । साउन ३१ गतेसम्म चल्ने प्रतियोगिताको ब्वाइजमा २४ र गल्र्समा १६ टिम सहभागी छन् ।