काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले लगातार चौंथो हार बेहोरेको छ । बुधबार सम्पन्न अन्तिम खेलमा नेपाल घरेलु टोली युएईसँग ४ विकेटले पराजित भएको हो ।
दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको युएईले ४९ ओभर १ बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । युएईका लागि मोहम्मद शाहदादले १ सय २३ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ९६ रन बनाएका थिए ।
मोहम्मद वसिमले ७३ बलमा ४ चौका र ३ छक्कासहित ७६ रन बनाए । मोहम्मद वसिम र मुहम्मद सहदादले चौथो विकेटका लागि १ सय ४७ रनको सतकीय साझेदारी गर्दै यूएईको लागि जितको आधार बनाएका थिए ।
यसैगरी शोहेव खानले २९ रन, अलिशान शराफुले १८ रन र हर्षित कौशिकले १३ रन जोडे । नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । यसैगरी नन्दन यादव, ललितनारायाण राजवंशी र सन्दीप लामिछानेले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३९ रनको योगफल बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाएका थिए ।
यसैगरी कुशल मल्ल ४५ रन, दीपेन्द्रसिंह ऐरी ३७ रन, आसिफ शेख ३४ रन, आरिफ शेख ३० रन, कुशल भुर्तेल २ रन, कप्तान रोहित पौडेल २ रन, नन्दन यादव १ रनमा आउट भए । ललित राजवंशी ४ रन र सन्दीप लामिछाने १५ रनमा अविजित रहेका थिए ।
युएईका लागि ध्रुव पराशर, मोहम्मद जवाद उल्लाह र जुनैद सिद्दिकीले समान २/२ विकेट लिए भने जाहिद अलीले एक विकेट लिएका थिए । यो सिरिजमा नेपालले कुनै पनि खेलमा जित निकाल्न सकेन ।
यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग १ सय ६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको थियो ।
हारसँगै नेपाल २० खेलमा १२ अंकसहित तालिकाको सातौं स्थानमा छ । अमेरिका २४ खेलमा ३६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । जितसँगै यूएई २० खेलमा १० अंकसहित तालिकाको पुछारमा छ ।