काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को संयुक्त आयोजनामा आईएसएफ स्पोट्र्स टिचर्स ट्रेनिङ कोर्स माघमा हुने भएको छ ।
अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ), एनएसएसएफ, नेपाल स्पोट्र्स इन्टरनेसनल तथा आईएसएफ एकेडेमी नेपालको सहकार्यमा उक्त तालिम आयोजना गर्न लागिएको हो । तालिम आगामी माघ १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ ।
उक्त कार्यक्रम सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलमा हुने आयोजकले जानकारी दिएको छ । विद्यालय तहमा कार्यरत खेलकुद शिक्षक तथा प्रशिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको तालिममा करिब २५ जना सहभागी रहनेछन् ।
तालिममा खेल विज्ञान, खेल प्रशिक्षण विज्ञान, खेल काइनेशियोलोजी तथा बायो–मेकानिक्स, खेल चिकित्सा तथा फिजियोथेरापी, खेल व्यवस्थापन, बाल मनोविज्ञान, डोपिङ नियन्त्रण तथा खेलकुदमा सुरक्षासम्बन्धी विषयहरू समेटिनेछन् ।
यसैगरी तालिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद संघ–संस्था, खेलाडीको सेवा निवृत्तिपछिको शारीरिक अवस्था तथा किशोरावस्थामा खेलकुदजस्ता विषयमा समेत प्रशिक्षण प्रदान गरिने जनाइएको छ ।
तालिमका प्रशिक्षकहरू विभिन्न विश्वविद्यालयका प्राध्यापक, सह–प्राध्यापक, उप–प्राध्यापक, वरिष्ठ प्रशिक्षक तथा खेलकुद क्षेत्रका विज्ञ रहनेछन् ।
तालिममा सहभागी हुन इच्छुक खेल शिक्षक तथा प्रशिक्षकले २०८२ माघ ९ गतेभित्र आवेदन फारम बुझाउनु पर्नेछ । सहभागीका लागि ९ हजार शुल्क तोकिएको छ । त्यसमा प्रमाणपत्र, लाइसेन्स तथा प्रशिक्षण शुल्क समावेश गरिएको एनएसएसएफका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।