काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन्। आज इभन–पार ६८ खेलेका उनले समग्रमा ६–अन्डर २ सय ६६ सहित उपाधि जितेका हुन्।
उनले दिनेश प्रजापति र सञ्जय लामालाई ४ स्ट्रोकले हराउँदै लगातार दोस्रो पटक उपाधि जिते। उपाधिसँगै १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे। भुवनको यो करियरको १३ औं उपाधि हो।
समग्रमा २–अन्डर २ सय ७० को स्कोरमा सञ्जय र दिनेशले संयुक्तरुपमा दोस्रो स्थान हात पारे। सञ्जयले आज १–ओभर ६९ र दिनेशले ३–ओभर ७१ मा आजको खेल सकाए। उनीहरूले समान ९५ हजार नगद पुरस्कार हात पारे।
समग्रमा १–अन्डर २ सय ७१ स्कोर जोडेका नेपाल नम्बर एक गल्फर निरज तामाङ, रवि खड्का र रामे मगरले संयुक्तरुपमा चौथो स्थान बाँडे। निरजलर आज १–ओभर ६९, रविले २–ओभर ७० र रामेले ३–ओभर ७१ को स्कोर कार्ड बनाए। उनीहरूलाई नगद ६३ हजार पुरस्कार वितरण गरियो।
आज ३–अन्डर ६५ को स्कोर निकाल्दै समग्रमा २–ओभर २ सय ७४ का साथ तोरण विक्रम शाहीले सातौं स्थान हात पारे। उनले ४७ हजार प्राप्त गरे। इभन–पार ६८ खेलेको जयरामले समग्रमा ३–ओभर २ सय ७५ सहित आठौं स्थानमा प्रतियोगिता सकाए। उनले ४१ हजार आफ्नो नाममा लेखाए।
यस्तै ५–ओभर २ सय ७७ सहित भुवन कुमार रोक्का र टंक बहादुर कार्कीले नवौं स्थान बाँडे। भुवनले २–अन्डर ६६ र टंकले २–ओभर ७० मा अन्तिम दिनको खेल पुरा गरे। उनीहरूले ३३ हजार ५ सय नगद पुरस्कार पाए।
एमेच्योरतर्फ राष्ट्रिय टिमका खेलाडी राहुल विश्वकर्माले स्वप्निल भट्टराईलाई ८ स्ट्रोकले हराउँदै उपाधि जिते। आज ३–अन्डर ६५ खेलेका राहुलले समग्रमा इभन–पार २ सय ७२ स्कोर गरे। आज ३–ओभर ७१ खेलेका स्वप्निलले समग्रमा ८–ओभर २ सय ८० स्कोर जोडे। समग्रमा ११–ओभर २ सय ८२ बनाएका महेन्द्र फगामी तेस्रो भए। आज उनले ४–ओभर ७२ को स्कोर दर्ज गरे।
अन्तिम १८ होलको खेलको सुरूवात गर्दा भुवन दिनेशभन्दा मात्र १ स्ट्रोकले अगाडि थिए। तर अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा भुवनको जित सहज बन्यो। भुवनले फ्रन्ट र ब्याक नाइन इभन–पार ३४ मा सकाए। उनले पहिलो, चौथो र १७औं होलमा बर्डी प्रहार गरे। छैटौं, आठौं र १८औं होलमा एक–एक सट खेर फाले।
सञ्जयले सातौं होलमा बोगी प्रहार गर्दा बाकी होलमा पार जोगाउँदै फ्रन्ट नाइन १–ओभर ३५ मा फ्रन्ट नाइन सकाए। यसपछि १३औं होलको बर्डीका विरुद्ध १८औं होलको बोगीले ब्याक नाइन इभन–पार ३४ खेले।
दिनेशले पहिलो र छैटौं होलको बोगीले फ्रन्ट नाइन २–ओभर ३६ मा सकाए। यसपछि १०औं, १३औं र १५औं होलमा एक–एक सट बचाए। तर यसपछि ११औं, १२औं, १४औं र १६औं होलमा बोगी खेपे।
विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका डेप्युटी जनरल म्यानेजर केशव प्रधान, नेपाल प्रोफेशनल गल्फर्स संघ (एनपीजीए) का अध्यक्ष रविन्द्रमान श्रेष्ठ र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे। प्रतियोगितामा ३४ जना व्यावसायिक तथा २१ जना एमेच्योर गरी कुल ५५ गल्फरले सहभागिता जनाएका थिए। खेलाडीहरूले कुल ८ लाख ७५ हजार रुपैयाँको लागि प्रतिस्पर्धा गरे। शीर्ष १८ स्थान सम्म रहने खेलाडी नगद पुरस्कारको हकदार बने।