काठमाडौं । प्याब्सन बागमती यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोश्रो जितसंगै बागमती एक खेल अगावै समूह ‘बी’ बाट ४ अंक जोड्दै सेमिफाइनलमा पुगेको हो । प्रतियोगिताकै पहिलो खेलमा बागमतीले प्याब्सन सुदूरपश्चिमलाई ३ विकेटले हराएको थियो ।
चार टिम रहेको यो समूहबाट मधेश पनि समान ४ अंकसहित सेमिफाइनलमा पुग्न सफल भयो । आइतबार बागमती र मधेशको खेलले समूह विजेताको टुंगो लगाउने छ । समान २–२ खेलमा जितविहीन सुदूरपश्चिम र प्याब्सन कर्णाली एक खेल अगाडि नै प्रतियोगिताबाट बाहिरिएका छन् ।
तल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमतीले कर्णालीलाई १ सय १६ रनको फराकिलो अन्तरले पराजित गर्यो । जारी प्रतियोगितामा यो सबै भन्दा ठूलो अन्तरको जित हो ।
तल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ९६ रनको विशाल स्कोर खडा गर्यो ।
‘म्यान अफ द म्याच’ बागमतीका विशाल ऐरले उत्कृष्ट ब्याटिङ गर्दै ९७ रन जोडे । ६१ बलको सामना गरेका विशालले १३ चौका र १ छक्का प्रहार गरे । सुदूरपश्चिम विरुद्धको खेलमा पनि विशाल अविजित ६० रन बनाउदै ‘म्यान अफ द म्याच’ बनेका थिए । १ सय ५७ रनसहित विशाल सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । केभिन दुल्यालले २८ र रौनक शाहले २६ रन बनाए । बलिङमा कर्णालीका कोसिश बस्नेतले ३ तथा योगेश आचार्यले २ विकेट लिए ।
.jpg)
जवाफमा कर्णालीले १७.१ ओभरमा अलआउट हुँदै मात्र ८० रन जोड्न सक्यो । कर्णालीका सुवास शाही र भूपेन्द्र परियारले समान १५–१५ तथा विपिन शाहीले ११ रन जोडे । बागमतीका सचिन सुनुवारले ३ तथा कमल शाहीले २ विकेट हात पारे ।
लुम्बिनीले आयोजक प्याब्सन काठमाडौंलाई ७ रनले हराउदै लगातार दोश्रो जित दर्ता गर्यो । पहिलो खेलमा लुम्बिनीले प्याब्सन कोशीलाई ४ विकेटले हराएको थियो । दुई खेलमा काठमाडौंको पहिलो हार हो । अघिल्लो खेलमा काठमाडौंले प्याब्सन गण्डकीलाई १० रनले हराएको थियो ।
टस जितेर ब्याटिङमा उत्रेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा १ सय १७ रन जोड्यो । लुम्बिनीका समिरजंग ठकुरीले ४२ बलमा ५ चौका मद्दतमा ४५ रन बनाए । जावेद खानले २० तथा प्रेम गुप्ताले नटआउट १५ स्कोर गरे । २ विकेट पनि लिएका प्रेम ‘म्यान अफ द म्याच’ घोषित भए । काठमाडौंका इन्साब बोहरा र प्रयुश उप्रेतीले समान २–२ विकेट लिए । लुम्बिनीले अत्तिरिक्तमा मात्र २७ रन पाएको थियो ।
प्रत्युत्तरमा २० ओभरमा ९ विकेट गुमाएको काठमाडौं १ सय १० रनमा समेटियो । ५ चौका प्रहार गरेका सन्दिप साउदले ४३, तपेन्द्र विष्टले १८ र कुशल बिसीले १६ रन जोडे । लुम्बिनीका प्रेमसहित सरिक अली र रिजन बुढाथोकीले समान २–२ विकेट हात पारे । आइतबारै बागमती र मधेश भिड्नुअघि आयोजक प्याब्सन काठमाडौं र प्याब्सन कोशीले प्रतिस्पर्धा गर्ने छन् ।