काठमाडौं । अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
यससंगै समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने दुवै टोलीको टुंगो लाग्यो । शत प्रतिशत जित निकालेको अक्षरा ६ अंकसाथ समूह विजेता भयो । २ मा जित र १ मा हार व्यहोरेको ग्यालेक्सी ४ अंकसहित समूह उपविजेता बन्यो ।
कागेश्वरी मनोहरा नगरपालिको विष्ट गाउँस्थित वान डे क्रिकेट एकेडेमीमा अक्षराले ग्यालेक्सीलाई ४७ रन, आयोजक मातृभूमि स्कुललाई २५ रन र सहारा राष्ट्रिय विद्यालयलाई ९ विकेटले पराजित गर्यो । ग्यालेक्सीले मातृभूमिलाई ९ विकेट तथा सहारालाई ३८ रनले हरायो । सान्त्वना जित हात पारेको मातृभूमिले सहारालाई ४३ रनले पाखा लगायो ।
शुक्रबार समूह ‘ए’ को सबै लिग खेल हुनेछ । त्यस दिन विनायक र जनप्रेमी, ग्लोबल र जनप्रेमी, विनायक र ग्लोबल, जनप्रेमी र जेम्स, जेम्स र ग्लोबल तथा जेम्स र विनायकबीच खेल समाप्तिसंगै सेमिफाइनल समीकरण तयार हुनेछ ।
प्रतियोगितामा ८ छात्र टिम सहभागी छन् । विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई माउन्टेन बाइक, उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट, उत्कृष्ट बलरलाई जुत्ता तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको अन्तिम दिन शनिबार सेमिफाइनल र फाइनल हुनेछ ।