काठमाडौं । एन्जल्स हार्ट र काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) ले प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । एन्जल्स हार्ट ब्वाइज तथा केभीकेएसएस गल्समा च्याम्पियन बने ।
तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजक तेजस्वी एकेडेमीमा भएको ब्वाइजको फाइनलमा एन्जल्स हार्टले ह्वाइट हेभेन एकेडेमीलाई ३७–३३ ले पराजित गर्यो । एन्जल्स हार्टका रुपेश पौडेलले २४ अंक जोडे । हिमालय बोर्डिङ स्कुलले संस्कृति शिक्षा सदनलाई ४८–२७ ले हराउदै तेश्रो भयो । हिमालयका अरुण कार्कीले २३ स्कोर गरे ।
गल्सको उपाधि भिडन्तमा केभीकेएसएसले आयोजक तेजस्वीलाई २५–१४ ले पाखा लगायो । केभीकेएसएसकी मुस्कान मिफोकले ८ अंक जोडिन् । तेश्रो स्थानका लागि भएको खेलमा बेलमोन्ट इन्टरनेसनल स्कुलले मानसिंहलाई १५–१२ ले पन्छायो । बेलमोन्टकी क्रिस्टिना घिमिरेले ९ अंक बटुलिन् ।
ब्वाइजमा एन्जल्स हार्टका रुपेश पौडेल तथा गल्समा केभीकेएसएसकी रोजी श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा ह्वाइट हेभेनका राहुल सुनार तथा गल्समा बेलमोन्टकी क्रिस्टिना घिमिरे उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।
.JPG)
ब्वाइजमा हिमालयका अरुण कार्की तथा गल्समा तेजस्वीकी एस्थर बरुवाल सर्वाधिक स्कोरकर्ता बने । ब्वाइजमा सिद्धार्थ मोडेल स्कुल तथा गल्समा एन्जल्स हार्ट नेसनल स्कुलले अनुशासित टिमको ट्रफी हात पारे ।
विजेतालाई सिनियर बास्केटबल प्रशिक्षक पूर्ण न्यौपाने, तेजस्वीका संस्थापक प्रिन्सिपल थिरबहादुर बस्नेत, तेजस्वीका संस्थापक प्रबन्ध निर्देशक राजकुमार केसी र तेजस्वीका भाइस प्रिन्सिपल विश्व पाण्डेले एक कार्यक्रमबीच पुरस्कृत गरे । छदिने प्रतियोगिताको ब्वाइज÷गल्समा समान १२–१२ गरी २४ टिम सहभागी थिए ।